राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक खारेज गर्नुपर्छः राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गरेको छ ।

बिहीबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि भएको छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिको कदमलाई स्वागत गरिन् ।

सा‌सद पौडेलले यो विधेयकलाई खारेज गरेर नागरिकताका विषयमा व्यापक छलफल गरेर अर्को विधेयक ल्याउनुपर्ने धारणा पनि राखिन् ।

नागरिकता मुलुकको अखण्डता र राष्ट्रियतासँग जोडिएको विषय भन्दै उनले विवाह गर्नेवित्तिकै कुनै पनि विदेशी नेपाली नागरिक हुन योग्य नहुने बताइन् ।

‘खुला सीमाना भएको देशमा विवाह गरेकै आधारमा नागरिकता प्राप्त गर्न योग्य हुने हो भने हामी फिजी हुने सम्भावना पनि छ’ सांसद पौडेलले भनिन्, ‘प्रायजसो देशमा (अंगीकृत नागरिकता दिन) सर्टेन टाइम राखेको पाइन्छ ।’ वास्तविक नेपालीलाई नागरिकता दिन समस्या छ भने त्यसमा सुधार गर्नुपर्ने पनि उनले बताइन् ।

वैवाहिक अंगीकृत नागरिकतामा छिमेकी देशले जे व्यवहार गरेको छ, हामी पनि त्यही व्यवहार गरौं भन्दै उनले ७ वर्षको उमेर हद तोक्नै पर्ने जिकिर गरिन् ।


Published :२ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media