इन्धनको मूल्य नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्छ : प्रकाशमान सिंह

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा यो काम गर्न सक्ने उनले बताए । आज बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामुदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताए ।

इन्धनको मूल्य समायोजनप्रति आफ्नै पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारको ध्यानाकर्षण गराउँदै नेता सिंहले भने, ‘अटोमेटिक प्रासिङ सिस्टम त छँदैछ, उपभोक्तालाई मारमा पार्दिनु भएन । सरकारले अलिकति पहल गर्नुपर्यो ।’

स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तर्राष्ट्रिय बजारमा तीन पटकसम्म इन्धनको मूल्य घट्दा समेत नेपाल आयल निगमले मूल्य घटाएको छैन । यसबाट सरकारको आलोचना भइरहेको छ ।

उनले सरकारका कामकारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने बताए ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काममा पनि समुदायलाई सहभागी गराउनुपर्ने उनको मत छ । उनले काठमाडौं महानगरपालिकालाई फोहोरको दीर्घकालीन व्यवस्थापनको उपाय खोज्न सुझाव दिए ।

फोहोरमा राजनीतिकरण भएकोमा विरोध जनाउँदै उनले महानगरपालिका, वडा वा सरकारले गर्ने कामहरुमा राजनीतिकरण गर्न नहुने धारणा राखे ।


Published :४ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media