काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भनेर भन्न सत्तारुढ दलका नेताहरु डराएको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामै लिएर सो भूमि नेपालीको हो भनेर चुइँक्क बोल्न नसकेको बताए ।
सोमबार ललितपुरमा आयोजित विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले एमालेले भने सो जमिन समावेश गरेर नेपालको नक्सा जारी गर्ने काम गरेको स्पष्ट पारे ।
नेपालले १४६ वर्षदेखि भोगचलन गर्दै आएको जमिन ६० वर्षअघि हाम्रो हातबाट खोसेर लगेको हो भनेर एमाले नेतृत्वको सरकारले मात्रै मुलुकको नक्सामा सामेल गरेको अध्यक्ष ओलीले स्मरण गराए । सत्तारुढ दलका नेताहरु भने यसबारे चुइँक्क बोल्न नसकेको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले राजनीतिलाई दुश्मनीको विषय बनाएको भन्दै आपत्ति जनाए । प्रतिस्पर्धालाई छोडेर सत्तारुढ दलहरुले मिलेर राजनीतिलाईं दुश्मनीको विषय बनाएको उनको भनाइ थियो । ओलीले मुलुकलाई बर्बाद हुनबाट बचाउन आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउनुपर्ने दाबी गरे ।