२४ घण्टाभित्र कर नतिरे शिलबन्दी गर्ने काठमाडौँ फनपार्कलाई महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रर्दशनी मार्गमा रहेको काठमाडौं फनपार्क प्रालिलाई कर तिर्न अल्टिमेटम दिएको छ ।

बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न अल्टिमेटम दिएको हो ।

तोकिएको अल्टिमेटमभित्र कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले दिएको छ । महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीमार्फत गरिएको पत्राचारमा भनिएको छ, ‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरको राजस्व विभागमा २४ घण्टा भित्रै बक्यैता र जरिवाना रकम तिर्न जानकारी गराइन्छ ।’

‘फन पार्कले ७ वर्षदेखि कर तिरेको छैन,’ महानगरका राजस्व विभाग प्रमुख अधिकारीले भने,‘ भोलि बेलुकासम्म बक्यौता कर नतिरे बन्द गर्ने चेतावनी दिएर आएका छौं ।’

समाजकल्याण परिषद्को स्वमित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फनपार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरु निर्माण गरेर खेल गतिविधि सञ्चालन गर्दै आएको छ ।


Published :भदौ १५, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media