काठमाडौँ । कारोबारको तेस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन २७ अंकले घटेर १८७१ अंकमा झरेको नेप्से सूचक मंगलबार थप १६ अंकले घट्न पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १६.०६ अंकले घट्दै १८५५.१६ अंकमा ओर्लिएको छ । त्यसो त १६ अंकले घटेको बजारमा आज कारोबार रकम समेत ५५ करोडमा खुम्चिन पुगको छ ।
अघिल्लो दिन २७ अंकले घटेको बजारमा ९७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यस दिन ट्रेडिङ, होटल तथा पर्यटन र म्युचुअल फन्ड बाहेकका अन्य उपसूचकहरु ऋणात्मक भएका छन् । डेभलपमेन्ट बैंक समूहको उपसूचक १.२८ प्रतिशतले घटेको छ भने आज जीवन बीमा समूहको उपसूचक १.२१ प्रतिशतले र अन्य समूहको उपसूचक १.२१ प्रतिशतले घटेको छ ।
त्यसैगरी ट्रेडिङ, होटल तथा पर्यटन र म्युचुअल फन्ड समूहको उपसूचक भने क्रमशः ०.०४, ०.०३ र ०.२६ प्रतिशतले बढेका छन् । आज सबैभन्दा बढी समिट लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरूले १० प्रतिशतले कमाएका छन् भने विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका सेयरधनीहरूले ७.१८ प्रतिशतले घाटा बेहोरेका छन् ।