काठमाडौँ । ‘समावेशी सहर बस्तीको आवश्यकता : सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ विश्व बसोबास दिवस, २०७९ विविध कार्यक्रम आयोजना गरी आज मनाइने भएको छ ।
शहरी विकास मन्त्रालयले गठन गरेको विश्व बसोबास दिवस, २०७९ मूल तयारी समितिले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा संयुक्त राष्ट्र सङ्घीय मानव बसोबास कार्यक्रम (यूएन ह्याविट्याट)को आह्वानमा सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास प्रवर्द्धन गर्ने मूल उद्देश्यले विश्वव्यापी रूपमा यो दिवस मनाउन थालिएको जानकारी गराइयो ।
राष्ट्र सङ्घले सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार यो दिवस मनाउन थालेको हो ।
नेपालले भने सन् २००१ देखि दिवस मनाउन थालेको तयारी समितिका संयोजक एवं मन्त्रालयको आवास महाशाखा प्रमुख रामचन्द्र दङ्गालले जानकारी दिए ।
नेपालमा यस वर्ष अक्टोबरको पहिलो सोमबार बडा दसैँको महाअष्टमी पर्व परेकाले असोज ३१ गते अर्थात् अक्टोबरको तेस्रो सोमबार (आज) यो दिवस मनाउन लागिएको हो ।
दिगो विकास लक्ष्यको लक्ष्य १ दशमलव १ ले समावेशी तथा दिगो सहरीकरण गर्ने लक्ष्य लिएको छ । दिवसका अवसरमा आज विज्ञले कार्यपत्र प्रस्तुत गर्ने गरी कार्यशाला गोष्ठी आयोजना गरिएको उनले जानकारी दिए । कार्यक्रममा व्यवस्थित शहरी विकास, स्मार्ट सिटीलगायत विषयमा कार्यपत्र प्रस्तुत गरी त्यसमाथि टिप्पणी हुने जनाइएको छ ।