सन्दीपलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति

राष्ट्रपाटी न्युज

२ कार्तिक २०७९

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । बुधवार जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न म्याद दिएका हुन् । प्रहरी वृत गौशालाले उनलाई थप ७ दिन हिरासतमा राख्न अनुमति मागेको थियो ।

सन्दीपका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले प्रहरीको सो मागमा अब्जेक्सन जनाएका थिए । असोज २४ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माले पहिलोपटक उनलाई ७ दिन हिरासतमा राख्न अनुमित दिएका थिए । दोस्रोपटक २७ असोजमा ५ दिन म्याद थप गरिएको थियो ।

नाबालिग बलात्कारको आरोपमा २२ वर्षीय क्रिकेटर लामिछानेलाई असोज २० मा कतारको दोहा हुँदै नेपाल फर्केपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । १७ वर्षीया किशोरीले आफुलाई सन्दीपले बलात्कार गरेको भन्दै भदौ २१ मा प्रहरी वृत गौशालामा जाहेरी दिएकी थिइन् । न्यायाधीश दाहालले आइतबार अनुसन्धान प्रतिवेदन सहित सन्दीपलाई उपस्थित गराउन आदेश गरेका छन् ।


Published :२ कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media