काठमाडौं । राष्ट्रपतिको सरकारी निवास शितल निवासमा देउसीभैलो खेलिएको छ ।
सोमवार राष्ट्रपतिको निवास रहेको शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सांस्कृतिक संस्थानका कलाकार र बालमन्दिरका बालबालिकाहरुको टोलीले देउसीभैलो कार्यक्रम गरेको हो ।
सो कार्यक्रममा राष्ट्रपतिलगायत राष्ट्रपतिका परिवारको उपस्थिति रहेको थियो । दौरा, सुरुवाल र नेपाली टोपी त्यसैगरी गुन्यु चोली र सारिको पहिरनमा सजिएका देउसे टोलीले परम्परागत शैली झल्कने देउसीभैलो भट्याएर खेलेको हो । टोलीले मादलको साथमा देउसीको बिचबिचमा सांगीतिक झाँकी मिसाउँदै देउसी खेलेको थियो ।
कार्यक्रममा कलाकारहरुले ‘जाग, लम्क, चम्क हे नौजवान हो’ लगायतका केही राष्ट्रप्रेमको भावना झल्किने गीतहरु पनि प्रस्तुत गरेका थिए ।
बालमन्दिरका बालबालिकाहरुले नृत्य पनि प्रस्तुत गरेका थिए ।
देउसीभैलोसँगै प्रस्तुत भएका सबै सांगीतिक तथा सांस्कृतिक प्रश्तुतिहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले निकै चाखपूर्ण रुपले हेर्नुभएको थियो । प्रस्तुति सकिएलगत्तै उहाँले देउसे टोलीलाई नाङलोमा राखेर दानदक्षिणा दिनुभएको थियो ।
यससँगै भैली टोलीले आशिष दिएका थिए । आशिषमार्फत राष्ट्रपति भण्डारीको उन्नति, प्रगति तथा सुस्वास्थ्यको कामना गरिएको थियो । घरमा लक्ष्मीले वास गरुन् । आगामी वर्ष पनि आउन पाउँ लगायतको आशिष थियो । आशिषमै पाएको दक्षिणाले सामाजिक कार्य गर्ने जानकारी पनि गराइएको थियो ।
अन्त्यमा देउसीभैली टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामूहिक तस्बिर खिचाएर देउसीभैलो कार्यक्रम सम्पन्न गरिएको थियो ।