सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, एकै दिन बढ्यो ४ हजार

राष्ट्रपाटी न्युज

३० फाल्गुन २०८१

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला रू चार हजारले बढेर रू एक लाख ७४ हजार पाँच सय कायम भएको छ । स्थानीय बजारमा बिहीबार सुन प्रतितोला रू एक लाख ७० हजार पाँच सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार ५० कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले आन्तरिक कारण भन्दा बाह्य कारणले सुनको मूल्य बढेको बताए । “अमेरिकी डलरको मूल्यवृद्धि, अन्तरराष्ट्रिय राजनीतिक घटनाक्रमलगायतका कारणले मूल्य बढेको हो । अन्तरराष्ट्रिय बजारमा भएको मूल्यवृद्धिअनुसार समायोजन गर्दा स्थानीय बजारमा हालसम्मकै उच्च मूल्य कायम भएको हो”, उनले भने ।

अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस दुई हजार ९८२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

 


Published :३० फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media