विश्वकप फुटबल हेर्ने ग्राहकले अतिरिक्त शुल्क तिर्नुपर्ने

राष्ट्रपाटी न्युज

३० कार्तिक २०७९

काठमाडौं । कतारमा हुने फिफा विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नु पर्ने भएको छ ।

विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त शुल्क लिने मिडिया हब प्रालिको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले अतिरिक्त शुल्क लिन पाउने बाटो खोलिदिएको छ ।

उक्त रिटमाथि सुनुवाइ गर्दै २२ कात्तिकमा सर्वोच्च अदालत न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अतिरिक्त पाँच सय रुपैयाँ शुल्क उठाउने मिडिया हबको निर्णय कार्यान्वयन नगर्न–नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

तर, बुधबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश गरेको छ ।

मिडिया हबको ४ मंसिरबाट कतारमा हुने विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त पाँच सय शुल्क लिने निर्णयविरुद्ध अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।


Published :३० कार्तिक २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media