गत चुनावमा ३६ सिट जितेको माओवादी १८ सिटमा खुम्चिन बाध्य

राष्ट्रपाटी न्युज

१० मंसिर २०७९

काठमाडौं । नेकपा (माओवादी) केन्द्रले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झड्का व्यहोरेको छ ।

पाँच वर्ष अघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षमा मात्र ३६ सिट जितेर निर्णायक बनेको माओवादी केन्द्र यसपटक भने १८ सिटमा खुम्चिएको छ ।

माओवादीले सत्ता गठबन्धनसँगको साझेदारीमा ४५ सिटमा उम्मेदवारी दिए पनि हालसम्म १६ सिटमा विजयी हासिल गरेको छ ।

माओवादीले जितेका निर्वाचन क्षेत्र यी हुन्

माओवादीले खोटाङ-१ मा जितेको छ । खोटाङ-१ बाट रामकुमार राई निर्वाचित भएका छन् ।

भोजपुरमा सुदन किँराती, मोरङ-४ बाट अमनलाल मोदी, काभ्रे-१ बाट सूर्यमान तामाङ, नुवाकोट-१ बाट हितबहादुर तामाङ, सिन्धुपाल्चोक-१ बाट माधव सापकोटा र सिन्धुली-२ बाट लेखनाथ दाहाल निर्वाचित भएका छन् ।

त्यस्तै, गोरखा-२ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाग्लुङ-२ बाट देवेन्द्र पौडेल, दाङ-२ बाट रेखा शर्मा, रुकुमपूर्वबाट पूर्णबहादुर घर्तीमगर, रोल्पाबाट वर्षमान पुन, कालीकोटबाट महेन्द्रबहादुर शाही, जाजरकोटबाट शक्तिबहादुर बस्नेत र रुकुम पश्चिमबाट जनार्दन शर्मा र हुम्लाबाट छिरिङ डम्डुल लामा (भोटे) विजयी भएका छन् ।

सुदूरपश्चिममा निल बन्यो माओवादी
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा निल बनेको छ ।

सुदूरपश्चिमका १६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमध्ये माओवादीले चार सिटमा उम्मेदवारी दिए पनि कुनै क्षेत्रमा जित्न सकेन ।

कैलाली-२ मा भगत बडुवाल, ३ मा कृष्णकुमार चौधरी, कञ्चनपुर-१ मा विना मगर र बैतडीमा नरेन्द्र कुँवर पराजित हुनुभएको छ । माओवादीले ०७४ को चुनावमा सुदूरपश्चिमबाट तीन सिट जितेको थियो ।


Published :१० मंसिर २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media