काठामाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले घटेको छ ।
बुधबार बजार परिसूचक नेप्से ३.५१ अंक (०.१८ प्रतिशत) ले गिरावट भएर १९४९.८५ अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकांश उपसूचक ओरालो लाग्दा लघुवित्त र व्यापार उपसूचक भने सामान्य बढेको छ । वित्त कम्पनी उपसूचक सर्वाधिक १.०९ प्रतिशतले झरेको छ ।
आइतबार २ अर्ब नाघेको कारोबार रकम सोमबार डेढ अर्बमा झरेको थियो भने मंगलबार १ अर्ब पनि पुगेन । बुधबार पनि नेप्सेमा २३ लाख ५५ हजार ८४५ कित्ता सेयर किनबेच हुँदा ८४ करोड २६ लाख ९५ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ४ करोड ७९ लाख ३४ हजारको कारोबार हुँदा नबिल बैंकको ४ करोड १५ लाख ३ हजार र नेस्डो समृद्धि लघुवित्तको ३ करोड ८३ लाख १० हजारको कारोबार भएको छ ।
बुधबार नेप्सेमा कुल १९४ कम्पनीको सेयर कारोबार हुँदा १२४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ६४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ६ कम्पनीको भने स्थिर रहेको छ । बुधबार कारोबार भएकोमध्ये ग्रिनलाइफ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ४.१७ प्रतिशतले वृद्धि हुँदा खप्तड लघुवित्तको सेयर मूल्य ४ प्रतिशत र रुरु जलविद्युत कम्पनीको सेयर मूल्य ३.३१ प्रतिशतले वृद्धि भएको छ ।
यता लक्ष्मी इक्विटी फण्डको इकाइ मूल्य ५.७६ प्रतिशतले गिरावट हुँदा वीन नेपाल लघुवित्तको सेयर मूल्य ४.४० प्रतिशत र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयर मूल्य ३.२७ प्रतिशतले झरेको छ ।