निर्वाचनको परिणाम सुखद नरहेको राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको टिप्पणी

राष्ट्रपाटी न्युज

१७ मंसिर २०७९

काठमाण्डौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद नरहेको टिप्पणी गरेका छन् ।

दलहरुमाथि नै प्रश्न उठ्ने गरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको उनको भनाइ थियो । शनिबार ललितपुरमा आयोजित ‘जापानः विगत, वर्तमान र भविष्य’ विषयक एकदिने सेमिनारमा बोल्दै अध्यक्ष तिमिल्सिनाले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउनका लागि दलहरु बलियो हुनुपर्ने उल्लेख गर्दै त्यस काममा लाग्न बौद्धिक समुदायलाई आग्रह समेत गरे ।

उनले सचेत समुदायले दलहरुलाई सच्याउन सकेमात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउने गरी विकास, निर्माणको कामले गति लिने पनि स्पष्ट पारे । अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरुलाई सच्चिन पनि पटकपटक ध्यानाकर्षण गराए ।

अध्यक्ष तिमिल्सिनाले जापानले विकासको क्षेत्रमा चमत्कार देखाएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाल पनि अघि बढ्न ढिलाई गर्न नहुनेमा जोड दिए । त्यस अवसरमा उनले जापानले नेपालको विकासमा पुर्‍याउँदै आएको सहयोगको खुलेर प्रशंसा समेत गरे ।


Published :१७ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media