रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा मुद्दा दायर

राष्ट्रपाटी न्युज

२० मंसिर २०७९

बुटवल । ४ मंसिरमा भएको रुपन्देही २ को मतदान खारेज गर्दै  पुनः मतदान गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ ।  प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

रुपन्देही २ को निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई अनियमित रुपमा निर्वाचित भएको घोषणा गरेको आरोप लगाउँदै उक्त मतपरिणाम बदर गरी पुनः मतदानको माग गरी उनले मुद्दा दर्ता गरेका हुन् ।

सो निर्वाचनमा पौडेल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसंग १ हजार ३ सय ६६ मतान्तरले पराजित भएका थिए । निर्वाचन परिणाम सार्वजनिक भएको ११ दिनपछि पौडेलले मुद्दा दायर गरेका हुन् ।

उनले निर्वाचन अधिकृतको कार्यालय रुपन्देही क्षेत्र नं २, आयोगको केन्द्रीय कार्यालय र निर्वाचित सांसद विष्णु पौडेलसहित ८ निकायलाई विपक्षी बनाएका छन् । निर्वाचन अधिकृत उद्वीर नेपालीले भने अनियमित तरिकाले मत परिणाम घोषणा गरिएको भन्ने आरोप निराधार भएको प्रतिक्रिया दिए ।


Published :२० मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media