काठमाडौं । राप्रपाले कामचलाउ सरकारले ल्याउने अध्यादेश राष्ट्रपतिले रोक्नुपर्ने प्रतिक्रिया जनाएको छ । सरकारले अध्यादेश ल्याउने निर्णय गरेको भोलिपल्ट सोमबार राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नयाँ जनादेश आइसकेको अवस्थामा सरकारले अध्यादेश ल्याउनु अनुचित, अनैतिक र आपत्तिजनक रहेको बताए ।
कामचलाउ सरकारले ल्याउने अध्यादेश राष्ट्रपतिले रोक्नुपर्ने बताउँदै उनले कामचलाउ अवस्थामा अध्यादेश ल्याइनु स्वार्थपूर्ण सत्ता केन्द्रित राजनीतिको फोहोरी सुरुवात भएको भन्दै आपत्ति जनाएका छन् ।
यसबारे उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- ‘निर्वाचनबाट ताजा जनादेश आइसकेको र केही दिनभित्र नयाँ संसदको बैठक शुरु हुने अवस्थामा काम चलाउ सरकारले बदनियतका साथ अध्यादेश ल्याउनु अनुचित, अनैतिक र आपत्तिजनक छ ।
देउवा नेतृत्वको सरकार बनेको डेढ वर्षसम्म रेशम चौधरीको रिहाइ लक्षित अध्यादेश ल्याउन कुनै अग्रसरता नदेखाएको र अहिले कामचलाऊ अवस्थामा अध्यादेश ल्याइनु स्वार्थपूर्ण सत्ता केन्द्रीत राजनीतिको फोहोरी सुरुवात हो । राष्ट्रपति महोदयले कामचलाऊ सरकारले ल्याएको अध्यादेशलाई रोक्नुपर्छ ।’