पार्टी र नेताविरुद्ध भ्रम फैलाउनेको एक-एक हिसाब लिन्छौंः बस्नेत

राष्ट्रपाटी न्युज

असार २०, २०८३

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी नेतृत्व र नेताहरूविरुद्ध राज्यस्तरबाटै सुनियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।

शनिबार ललितपुरमा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले डिजिटल प्लेटफर्मको दुरुपयोग गर्दै एमालेविरुद्ध योजनाबद्ध रूपमा प्रचार भइरहेको दाबी गरे ।

सचिव बस्नेतले गत भदौ २३ र २४ गते भएका घटनालाई नेपालमाथिको आक्रमणको संज्ञा दिँदै ती घटनामा विभिन्न डिजिटल च्यानल तथा संस्थाहरूको संलग्नता रहेको आरोप लगाए । उनले डिस्कोर्ड च्यानल, ‘वी आर नेपाली’, ‘बारबरा फाउन्डेसन’ र ‘अमेरिकन युथ काउन्सिल’ जस्ता संस्थाहरू विदेशी शक्तिको आडमा परिचालित भएको दाबी गरे ।

ती माध्यमबाट बम बनाउने, सरकारी भवन तथा निजी उद्योगमा आगजनी गर्नेजस्ता हिंसात्मक गतिविधि सिकाउने प्रयास भएको उनको भनाइ थियो।

सचिव बस्नेतले वर्तमान सरकारले एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलमाथि प्रतिशोधपूर्ण ढंगले आधारहीन आरोप लगाएको दाबी गरे । उनले उपाध्यक्ष पौडेलमाथि लगाइएका जग्गा तथा उद्योगको सेयरसम्बन्धी आरोपहरू निराधार रहेको उल्लेख गर्दै यस्ता गतिविधिको एमालेले राजनीतिक रूपमा हिसाब गर्ने चेतावनी दिए ।

उनले भने, “राज्यविरुद्ध आतंक सिर्जना गर्ने प्रयास भइरहेको छ। डिजिटल प्लेटफर्मलाई हाम्रो विरुद्ध भ्रम फैलाउने माध्यम बनाइएको छ। भदौ २३ र २४ गतेका घटना नेपालमाथिको आक्रमण थिए। ती घटनामा डिस्कोर्ड च्यानलदेखि ‘वी आर नेपाली’, ‘बारबरा फाउन्डेसन’ र ‘अमेरिकन युथ काउन्सिल’ जस्ता समूह प्रयोग गरिएको थियो। त्यहाँ बम बनाउन, घर जलाउन सिकाइएको थियो। सिंहदरबार, संसद्, सर्वोच्च अदालत, निजी उद्योग र हाम्रा घरहरूमा आक्रमण भयो। आज ती घटनामा संलग्नहरू सत्ताको संरक्षणमा छन्।”

उनले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलमाथि लगाइएका आरोप राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गर्दै एमालेले यस्ता गतिविधिप्रति मौन नबस्ने बताए ।

सचिव बस्नेतले पार्टीले सुरु गरेको पार्टी जागरण अभियान मार्फत एमालेविरुद्ध फैलाइएका भ्रमबारे पहिले पार्टीका नेता–कार्यकर्ता र त्यसपछि आम नागरिकलाई स्पष्ट पारिने बताए । उनले भ्रम फैलाउने प्रयासविरुद्ध एमाले वैचारिक र सांगठनिक रूपमा सशक्त ढंगले प्रस्तुत हुने पनि उद्घोष गरे ।


Published :असार २०, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media