
काठमाडौं । नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। नेप्से परिसूचक २.६२ अंकले घटेर १८९७.०८ विन्दुमा अडिएको छ। सेयर कारोबारको अघिल्लो दिन मंगलबार नेप्से २.५७ अंकले घटेर १८९०.७० विन्दुमा पुगेको थियो ।
बैंकको उच्च ब्याजदर, तरलता अभाव र निर्वाचनप्रति लगानीकर्ता उत्साहित हुन नसकेपछि सेयर बजारले उचाइ लिन नसकेको विश्लेषकहरु बताउँछन्। ब्याजदर नघट्ने भएपछि लगानीकर्ताहरु अन्योलमा देखिएका छन्। बैंकहरुले ब्याजदर नघटाउने भएपछि लगानीकर्ताहरु हेर र पर्खको अवस्थामा पुगेका हुन् ।
लगानी डुब्ने डरले लगानीकर्ता चुप लागेपछि सेयर बजार ओरालो लागेको हो। नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ ।
आज ७२ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ।
अघिल्लो कारोबार दिन मंगलबार ७७ करोड बढिको सेयर कारोबार भएको थियो। यसदिन २४६ कम्पनीको २० लाख ८७ हजार ८७६ कित्ता सेयर ७२ करोड ७८ लाख ७७ हजार ८९७ रुपैयाँमा खरिदबिक्री भयो।
दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सीवाईसी नेपाल लघुवित्त वित्तीय र इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो।
यस्तै धवलागिरी लघुवित्त वित्तीयको सेयर मूल्य ८.२० प्रतिशतले बढेको छ। यसदिन नेपाल दूरसंचार कम्पनी ५ करोड ३९ लाख १३ हजार मूल्य बराबरको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो।
एग्रिकल्चर डेभलपमेन्ट बैंक र नविल बैंक ४ करोड बढिको सेयर कारोबार गरे। कारोबारमा आएका १३ समूहमध्ये पाँच समूहको सूचक बढ्दा ८ को सूचक नकारात्मक देखियो ।