काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका छन् ।
सत्ता समीकरण निर्माणबारे एमालेसँग समेत समानान्तर वार्तामा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार बिहान देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गरेका हुन् ।
आफैँ प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवालाई भेटेर प्रचण्डले प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको औपचारिक जानकारी गराएका हुन्। देउवा र प्रचण्डबीच भएको भेटलाई उदृत गर्दै कांग्रेसका एक उच्च नेताले भने, ‘प्रचण्डजीले आफूलाई प्रधानमन्त्री बनाउन प्रधानमन्त्री देउवाज्यूसँग औपचारिक प्रस्ताव गर्नुभयो । दाहाल र देउवाबीच झण्डै ४५ मिनेट बालुवाटारमा भेटवार्ता भएको हो।’
देउवा निकट ती नेताका अनुसार प्रधानमन्त्री देउवाले प्रचण्डलाई कुनै जवाफ दिएनन् । देउवाले प्रचण्डलाई आफूले पार्टीमा कुरा राख्ने मात्र बताएको उनले जानकारी दिए । उनका अनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेसले सहयोग गर्न सक्दैन । उनले भने,‘ तेस्रो दलको व्यक्तिलाई कांग्रेसले कसरी प्रधानमन्त्री बनाउँछ । देउवाको विकल्पमा प्रधानमन्त्रीका लागि कांग्रेसले कसैसँग छलफल गर्दैन । केही दिनमा देउवा पुन: प्रधानमन्त्री बन्दै हुनुहुन्छ ।’