भोलि २ बजेसम्म उम्मेदवारी दिन कोइराला समूहका नेताहरू छलफलमा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि निर्वाचन हुने भएपछि संस्थापनइतर समूहका नेताहरू भेला भएर छलफलमा जुटेका छन् ।

दलको नेता बन्ने आकांक्षीहरू धेरै भएपछि शेखर कोइराला समूहको भेला सोमबार राजधानीको एम्बेस्डर होटलमा भएको छ ।

संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेता बन्न निर्विकल्प रहँदा संस्थापनइतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला र महामन्त्री गगन थापा आकांक्षी देखिएका छन् ।

संस्थापनइतरबाट तीन जना आकांक्षी देखिएपछि अन्तिम निचोडमा पुग्न आजको बैठक डाकिएको सो समूहका एक नेताले बताए ।

संस्थापनबाट भने उपसभापतिसमेत रहेका धनराज गुरुङ र नेता दिलेन्द्र बडू सर्वसम्मत नेता चयनका लागि शेखर पक्षसँग सम्बाद गरिरहेका छन्। उनीहरूले देउवाकै नेतृत्वमा नयाँ सरकार गठनका लागि शेखर समूहसँग सम्बाद गरिरहेका छन् ।

यसैबीच नेपाली कांग्रेसले संसदीय दलको नेता छान्न कार्यतालिका सार्वजनिक गरेको छ । भीष्मराज आङ्देम्बे संयोजक रहेको निर्वाचन समितिले सोमबार ८९ सदस्यीय सांसदहरूको नामावली प्रकाशन गरेको छ । संसदीय दलको नेता बन्ने आकांक्षीहरूले मंगलबार दिउँसो २ बजेभित्र उम्मेदवारी दिनुपर्ने समयसीमा रहेको छ । कांग्रेसले बुधबार संसदीय दलको नेता छान्दैछ ।


Published :४ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media