एमाले उपाध्यक्ष नेम्वाङको प्रचण्डसँग प्रस्ताव- तपाई प्रधानमन्त्री हुनुस्, एमालेलाई राष्ट्रपति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच नयाँ सत्ता समीकरणको विषयमा छलफल भएको छ । मंगलबार बिहान खुमलटार पुगेर एमाले उपाध्यक्ष नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री बन्‍न औपचारिक रुपमा प्रस्ताव गरेका हुन् ।

भेटमा नयाँ सत्ता समीकरण, सरकार गठन र समसामयिक राजनीतिको विषयमा छलफल भएको हो । उपाध्यक्ष नेम्वाङले वामपन्थी दलहरुबीच एकै ठाउँमा आउनुपर्नेमा जोड दिएका छन् । उनले प्रचण्डसमक्ष सत्तारुढ गठबन्धन टुटाएर एमाले-माओवादीको सरकार बनाउनुपर्ने धारणा राखेका छन् ।

उनले भने, ‘गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्न माओवादी केन्द्र तयार होस् । एमाले तपाईं(प्रचण्ड)लाई प्रधानमन्त्री मान्न तयार छ । तपाईं प्रधानमन्त्री बन्नुहोस्, एमाले राष्ट्रपतिमा मान्न तयार छ ।’ दुई नेताबीचको संवादलाई उद्दृत गर्दै एक नेताले भने, ‘बाँकी पदहरु एमाले-माओवादीका शीर्ष नेता बसेर सहमतिमा बाँडफाड गरौंला । गठबन्धन छाडेर आएपछि एमाले, माओवादीसँग छलफल र सहकार्य गर्न तयार छ । देशलाई स्थितरतातर्फ लैजान राजनीतिलाई नयाँ कोर्षबाट अगाडि बढाऔं।’

नेम्वाङले प्रचण्डलाई नयाँ सत्ता समीकरण र सरकारमा अहिले एकीकृत समाजवादीलाई सहभागी नगराउने प्रस्ताव गरेका छन् । नेम्वाङले प्रचण्डसँग भने ‘अहिले नेकपा एकीकृत समाजवादीलाई नयाँ सरकारमा ल्याउन एमाले तयार छैन । एसबिनाको गठबन्धन बनाऔं ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र नयाँ सरकार गठनको आह्वान गरेसँगै एमालेले शीर्ष नेताहरुसँग छलफल अगाडि बढाएको हो । यस अगाडि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका थिए । ओली-गुरुङबीचको भेटमा सरकार गठन प्रक्रियामा देखिएका भूराजनीतिक छाया र तिनका सम्भावित परिणामका बारेमा समेत खुलेर छलफल भएको स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनभित्र शेरबहादुर देउवा र प्रचण्डले प्रधानमन्त्रीको दावी गरिरहेका छन् । निर्वाचन अगाडि देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने बचन दिए पनि हाल औपचारिक रुपमा सत्ता समीकरण र भावी प्रधानमन्त्रीका बारेमा सत्ता गठबन्धनमा छलफल नभएपछि एमाले गठबन्धनलाई टुटाएर नयाँ समीकरण बनाउन प्रयासरत रहेको छ । एमालेका नेता विशाल भट्टराईले गठबन्धनले बहुमत पुर्‍याउन नसके एमाले अगाडि बढ्ने उद्घोष गरेका थिए ।


Published :५ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media