काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेश गरेका छन् ।
नेकपा एमालेसहित दलहरुका शीर्षनेताहरु बहुमत सांसदको समर्थन लिएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष दाबी पेश गरेका हुन् ।
बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्रीमा सहमति नजुटेपछि आइतबार दिउँसो बालकोटमा एमाले र माओवादी केन्द्रलगायतका दलहरुबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको हो ।
बैठकपछि एमालेका महासचिव शंकर पोखरेलले प्रचण्डको नेतृत्वमा एमाले ,माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी,जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सरकार बन्नेमा सहमति जुटेको बताए ।
उनले प्रचण्डलाई १६६ सांसदको समर्थन रहेको बताए । सरकार गठन गर्न १३८ सांसद भए बहुमत पुग्छ ।
प्रचण्डको नेतृत्वमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी,जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सरकार बन्नेमा सहमति जुटेको हो ।
राष्ट्रपतिले तोकेको समयसीमाभित्र पहिलो दल बनेको कांग्रेसले सरकार गठन गर्न नसकेपछि एमालेले अग्रसरता लिएको हो ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय दिनुभएको थियो । अन्तिममा आएर दलहरुले बहुमत पुर्याएका हुन् ।