एमाले नेतृत्वको सत्ता समीकरणको संयुक्त बैठकमा सहभागी हुन प्रचण्ड पुगे वानेश्वर

काठमाडौं । एमाले नेतृत्वको नयाँ सत्ता समीकरणको संयुक्त बैठकमा सहभागी हुन प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ बानेश्वर पुगेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बोलाइएको बैठकमा नयाँ सत्ता समीकरण बैठक बस्न लागेको हो ।

बालकोटमा एमालेको आन्तरिक बैठक जारी रहेकाले अध्यक्ष केपी शर्मा ओली केही समयपछि संसद भवन नयाँ बानेश्वर आउने बताइएको छ । एमाले अध्यक्ष ओलीसहितको समर्थनमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । बैठकमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीमण्डलबारे छलफल हुन लागेको हो।

आइतबारको बालकोट बैठकमा पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री र  राष्ट्रपति र सभामुख एमालेले पाउने, साढे २ वर्षमा माओवादी-एमालेले प्रधानमन्त्री आलोपालोमा लिने सहमति बनेको छ । नयाँ गठबन्धनमा पावर शेयरिङको थप विषय टुंग्याउन बाँकी रहेको छ ।

प्रचण्डलाई आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे शपथग्रहण गर्दैछन् । आज अपराह्न चार बजे केही मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउँदैछ । उनको मन्त्रालय भने छलफलपछि टुंगो लाग्नेछ ।

प्रचण्डको शपथ ग्रहणसँग सानो आकारको मन्त्रीमण्डल गठनका लागि बैठकले मन्त्रालय र मन्त्री हुनेको नाम टुङ्गो लगाउने बताइएको छ । २ सय ७५ रहेको प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ चाहिन्छ ।

प्रधानमन्त्री पाएको माओवादी केन्द्रको ३२ सिट छ । प्रधानमन्त्री बनेका प्रचण्डलाई एमालेको ७८, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र तीन जना स्वतन्त्र सांसदको समर्थन छ  ।


Published :११ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media