शेयर बजारमा ५९ अंकको उछाल, कारोबार रकम ३ अर्बमाथि

काठमाडौं । नयाँ सरकारले पूँजी बजार सुधारलाई पहिलो प्राथमिकता राखेपछि सेयर बजारमा त्यसको सकारात्मक प्रभाव देखिन थालेको छ ।

आज नेप्से परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन सोमबार नेप्से ५६.८६ अंकले बढेर १९२४ विन्दुमा बन्द भएको थियो । सो दिन दुई अर्ब ९ करोड ७० लाख ४९ हजार बराबरको सेयर कारोबार भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मुख्य प्राथमिकता अर्थतन्त्र सुधार्नमै रहने बताएका थिए। नव नियुक्त अर्थमन्त्री विष्णु पौडेलले कार्यभार सम्हाले लगत्तै खस्कँदो पूँजी बजारबारे संघन पहिचान गरी समाधानको बाटो खोज्ने उद्घोष गरेका थिए। उनले समस्या समाधानका लागि अर्थ जगतका सबै क्षेत्र र विषय विज्ञसँग आवश्यक छलफल गर्ने बताएका थिए।

प्रधानमन्त्री र अर्थमन्त्रीबाट सकारात्मक कुरा सुनेपछि लगानीकर्ताहरु सेयर बजारले अब उचाइ लिनेमा विश्वस्त छन्। आगामी दिनमा बजार सुधार हुने संकेत देखिन थालेको बजार विश्लेषकहरु बताउँछन्।

यसदिन नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ। २६१ कम्पनीको १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर ३ अर्ब ८८करोड ४३ लाख ९६ हजार ९९७ रुपैयाँको सेयर कारोबार भयो।

सेन्सेटिभ इण्डेक्स १०.५९ अंकले बढेर ३८६.०४ विन्दुमा अडिएको छ ।

कारोबारमा आएका १३ वटै समूहको सूचकमा हरियाली छाएको छ । इन्भेस्टमेन्टको सूचक सर्वाधिक ६.४३ प्रतिशतले बढ्यो ।

फाइनान्स, होटल्स एन्ड टुरिजम, हाइड्रो पावरको सूचक ४ प्रतिशत बढिले उकालो लाग्यो। यस्तै लाइफ इन्स्योरेन्स र नन लाइफ इन्स्योरेन्सको सूचक ३ प्रतिशतले वृद्धि हुँदा बैंकिङ, डेभलपमेन्ट,अदर्श र  ट्रेडिङ समूहको सूचक २ प्रतिशत बढिले बढ्यो।

यसदिन ९ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । २० करोड मूल्य बढिको सेयर कारोबार गरी लक्ष्मी बैंक शीर्षस्थानमा रह्यो ।
यस्तै नेपाल दूरसंचार कम्पनी १४ करोड मूल्य बढिको कारोबार गरी दोस्रो स्थानमा रह्यो ।

दोहोरो अंकले उकालो लागेको सेयर बजारमा १९ कम्पनीको  मूल्य भने घट्यो ।


Published :पुस १२, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media