काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने अथवा नजाने आज निर्णय गर्दैछ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।
स्थायी कमिटी बैठक बिहान ११ बजे बस्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सरकारमा आउन आग्रह गरेका थिए ।
प्रचण्डको आग्रहपछि नेपालले पार्टी भूगोल कमिटीका अध्यक्ष र इन्चार्जसँग भर्चुअल बैठक गरेका थिए । बैठकबाट सरकारमा सहभागी हुनुपर्ने र सहभागी हुन नहुने मिश्रित सुझाव आएको थियो ।
बैठकले त्यसबारे निर्णय लिने बताइएको छ । एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डदेखि एमालेका नेताहरुले छुट्छुट्टै पहल गरिरहेका छन् ।