प्रधानमन्त्री र गृहमन्त्रीबीच बालुवाटारमा शक्ति बाँडफाँडलगायत विषयमा छलफल

काठमाडौं ।  गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् । शनिबार बिहान उनी प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री लामिछानेबीच समसामयिक विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सरकारका नीति तथा कार्यक्रम र आगामी रणनीतिबारे छलफल गरेका छन् । उनीहरुबीच शक्ति बाँडफाँड र मन्त्रालय बाँडफाँडको बारेमा पनि छलफल भएको छ ।

गृहमन्त्री लामिछानेले सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन प्रधानमन्त्रीसँग छलफल गरे छन् । लामिछानेले आमनागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउन भन्दै छलफल चलाएका हुन् । हाल सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गरिएको छ ।

साथै भेटका क्रममा कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।


Published :१६ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media