आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, बाहिरी चहलपहल कम गर्न सुझाव

काठमाडौं । आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

विज्ञहरुले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् । पछिल्लो केही दिन यता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ ।

आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा शीतलहरको सम्भावना उच्च रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरुको सुझाव छ ।

जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताए । उनले आजदेखि तीन दिनसम्म देशको अधिकांश भागमा शीलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

उनले अबका केही दिनमा चिसो अत्यधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दिर्घरोगी, मुटुका रोगीहरुले बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने बताए । उनले पश्चिम बंगालमा सिर्जना भएको न्युन चापिय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको पनि बताए ।

उनले गत वर्षको यो सिजनमा पानी परिसकेको भए पनि यसवर्ष भने पानी नपरेकाले झनै समस्या सिर्जना हुनसक्ने बताए । उनले मौसम अनुकुल नहुँदा पश्चिम तराईका केही जिल्लाहरुमा चिसोका कारण बिरामीहरु बढेको र आगामी दिनमा काठमाडौंसहित पहाडी जिल्लाहरुमा समेत यसको प्रभाव देखिने बताए ।

डा. उप्रेतीले देशभर चिसो बढेकाले बिहानको समयमा बाहिर हिँडडुल भरसक नगर्ने, बिहान बाहिर हिँड्नै परे मास्कको प्रयोग गर्ने, आगो ताप्दा झ्याल-ढोका खोलेर वा पर्याप्त हावा ओहोरदोहोर हुनेगरी मात्र आगो वा हिटर ताप्ने, गाडी चलाउँदा गति सिमित हुनेगरी चलाउने र फोग लाइटको प्रयोग गर्ने, विद्यालयमा केही दिन बिदा वा प्रविधिको प्रयोग गरी सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने सुझाव दिए ।


Published :१७ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media