काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मुलुकको उपलब्धिलाई रक्षा गर्नका लागि पार्टी सशक्त भूमिका निर्वाह गर्ने जनाएको छ ।
सोमबारबाट ललितपुरमा सुरु राजनीतिक समितिको बैठकले राजनीतिक अवस्था र निर्वाचनको समीक्षा गर्दै जसपाले सरकारमा रहेर वा प्रतिपक्षमा रहेर संघीयतालगायतका उपलब्धिलाई रक्षा गर्न सशक्त भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकमा अध्यक्ष उपेन्द्र यादवले जसपा राष्ट्रिय पार्टी बन्नुमा सन्तोषजनक हुनुपर्ने तर यो नै प्रयाप्त नभएको बताए । यसअघिको कांग्रेस नेतृत्वको गठबन्धनले आफूहरूलाई अन्तिम समयसम्म झुटो आश्वासन दिएर अल्झाएको र पछि सिट बाँडफाँटमा कुरा नमिलेपछि गठबन्धन छाड्ने परिस्थितिमा पुगेको बैठकपछि जसपा नेता डा. सुरेन्द्र यादवले जानकारी दिए ।
सरकारमा सहभागिताका विषयमा मंगलबार छलफल हुने र निष्कर्षमा पुगिने उनले बताए । वर्तमान सरकारलाई समर्थन गरेको जसपाभित्र सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा विवाद छ ।