चलचित्र ‘पञ्चायत’ लाई युट्युबका दर्शकको प्रशंसा

काठमाडौं । शिवम अधिकारीले निर्देशन गरेको नेपाली चलचित्र ‘पञ्चायत’लाई दर्शकले साथ दिएका छन् । सो चलचित्र प्रदर्शनको पाँच वर्षपछि युट्युबमा सार्वजनिक भएको छ ।

पुस १३ गते नेपाल फ्लिक्स युट्युब च्यानलमार्फत सार्वजनिक भएको चलचित्रले दर्शकको साथ पाइरेहेको छ । सोमबार दिउँसोसम्म चलचित्र नेपालको युट्युब ट्रेन्डिङको तेस्रो स्थानमा छ ।

ओष्कार अवार्डका लागि नेपालबाट सिफारिशसमेत भएको यो चलचित्रले युट्युबमा धेरैको प्रशंसा बटुलेको छ । धेरैले कथावस्तु र कलाकारहरू नीता ढुंगाना, सरोज खनाल, जाहृन्वी बस्नेतको अभिनयको खुलेर तारिफ गरेका छन् ।

पञ्चायतकालताका एउटा गाउँमा भएको न्याय प्रणाली, समाजिक व्यवस्था, छाउपडी प्रथालाई चलचित्रले देखाएको छ ।

चलचित्रमा गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ, रवि अधिकारी, सुचित्रा उप्रेती, अश्विनी कोइराला, प्रकृति ढुंगेललगायतको पनि अभिनय छ । सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता गणेश गिरी, निर्माता शुशान्त श्रेष्ठ र शंकर सुवेदी छन् ।

चलचित्रको लेखन तथा निर्देशक शिवम् स्वयंले गर्नुभएको हो भने रामेश्वर कार्कीले छायांकन गरेका छन् । चलचित्र विकास बोर्डले दुई लाख नगद रुपैयाँ पुरस्कार राशीसहित यो चलचित्रलाई ‘विशेष चलचित्र’समेत घोषित गरेको थियो ।

त्यस्तै, २०७४ सालमा अमेरिकाको क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्कोमा आयोजित ‘सन फ्रान्सिस्को सिनेमा महोत्सव’मा यसले विदेशी भाषातर्फ उत्कृष्ट सिनेमाको अवार्ड जित्नुका साथै नीता ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्री’को अवार्ड समेत प्राप्त गरेकी थिइन् ।


Published :१९ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media