कांग्रेसले राप्रपालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैनः रमेश लेखक

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफ्नो पार्टीले प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको बताएका छन् ।

शुक्रबार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीमा राप्रपालाई आफ्नो पार्टीले प्रस्ताव नगरेको प्रष्ट पारे । उनले आफ्नो पार्टी एमाले–माओवादी केन्द्रसहितको सत्ता समिकरणलाई भत्काएर नयाँ समिकरण बनाउने काममा नलागेको पनि पटकपटक दोहो-याए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बारेमा भने यही पुस २६ गते बिहान बस्ने पार्टी संसदीय दलको बैठकले निर्णय गर्ने जानकारीसमेत दिए ।

आफूहरु अहिले पार्टी संसदीय दलको भोलि (शनिबार) बिहान बोलाइएको बैठकको गृहकार्यमा जुटेको उनको भनाइ थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यही पुस २६ गते बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका छन् । काँग्रेस प्रमुख सचेतक लेखकले प्रधानमन्त्री दाहालले विश्वासको मत लिने पत्र आफ्नो दलमा पनि आएको र त्यसका लागि आन्तरिक छलफल सुरु गरिएको बताए ।


Published :२२ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media