सरकारले विश्वासको मत प्राप्त गर्नेमा ढुक्क रहन कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको आग्रह

काभ्रे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन् ।

पार्टी जनसङ्गठन समन्वय संयन्त्रले काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको दुईदिने जनसंगठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोह उनले आउँदो मंगलबार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेता–कार्यकर्तालाई ढुक्क रहन आग्रह गरे ।

उनले भने- ‘वर्तमान सरकारले सहज तरिकाले विश्वासको मत प्राप्त गर्नेछ, तपाईंहरू ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो।’

अध्यक्ष ओलीले सांकेतिक रूपमा सरकारलाई विश्वासको मत नदिलाउन षड्यन्त्र भइरहेको बताए । उनले एमाले सरकारमा वा प्रतिपक्षमा जहाँ रहे पनि देश र नागरिकको हितमा दृढतापूर्वक सक्रिय भइरहने बताए ।

अध्यक्ष ओलीले जनादेशको सही व्याख्या, सही विश्लेषण र सही सदुपयोग गरेको दाबी गर्दै देशको राजनीति अत्यन्तै अनौठो गतिमा परिवर्तन भएकोमा नेपाली राजनीतिमा चासो राख्ने अचम्मित भएको बताए । अहिले अन्य शक्तिहरुले नचाहेको सरकार बनिरहेको र यो परिवर्तन चानचुने कुरा नभएको पनि उनले बताएका छन् ।


Published :२४ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media