एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालको सम्बोधनले नै विग्रहको विजारोपणः कांग्रेस महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले वर्तमान सरकारको स्थिरता चुनौतीको विषय भएको बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा भाग लिन नयाँ बानेश्वरस्थित संसद भवन पुगेका महामन्त्री थापाले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारको स्थिरता चुनौतीको विषय भएको बताए । उनले अघिल्लो पटक वर्तमान सत्तारुढ गठबन्धनले गठबन्धन जोगाउन नसकेको भन्दै यसपटक पनि गठबन्धन टिक्नेमा आशंका व्यक्त गरे ।

निर्वाचनअगाडि एउटा गठबन्धन र निर्वाचनपछि अर्को गठबन्धनको स्वरुप भएकाले पनि सरकारको स्थिरतामा चुनौती भएको उनको भनाइ छ । महामन्त्री थापाले अहिलेको निर्वाचन प्रणालीलाई स्वीकार गरिसकेपछि सरकार बन्ने र बदलिने कुरालाई सामान्य रुपमा लिनुपर्ने पनि बताए ।

महामन्त्री थापाले संसदको पहिलो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधनले उनीहरुका बिचमा बिग्रहको बिजारोपण भएको टिप्पणी गरे । ओलीले अघिल्लो प्रतिनिधिसभा विघटनलाई प्रतिगामी भन्नेहरु नै प्रतिगामी हुन् भनेको भन्दै सो कुरा नै विग्रहको कारण बन्नसक्ने उनको भनाइ छ ।

महामन्त्री थापाले सरकारले सरकारको भुमिका र प्रतिपक्षले प्रतिपक्षको भुमिका इमान्दारीतापूर्वक निर्वाह गरेमा संसदमा कुनै पनि समस्या नआउने बताए ।


Published :२५ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media