प्रतिपक्षविहीन संसद्, कांग्रेसले प्रमुख प्रतिपक्षी दलसमेत बन्ने आँट गरेन

समाचार टिप्पणी

काठमाडौं । लोकतन्त्रमा बलियो प्रतिपक्षलाई महत्वपूर्ण मानिन्छ । संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका झन् महत्वपूर्ण हुन्छ । संसदीय मान्यतामा संसद् प्रतिपक्षको र कार्यकारिणी सत्तापक्षको मानिन्छ । आम जनताका मुद्दा बोक्ने र सत्ताको स्वेच्छाचारिता रोक्ने बलियो प्रतिपक्ष हुनु आवश्यक छ ।

प्रतिपक्ष बलियो नभए सत्ताधारीको स्वेच्छाचारी निर्णय र राज्यकोषको दुरुपयोग हुने खतरा रहन्छ । प्रतिपक्ष भएको संसद्मा सत्ताधारी बेलगाम र स्वेच्छाचारी भएर अघि बढ्ने दुस्साहस गर्दैन । प्रतिपक्षलाई बहुदलीय लोकतन्त्रमा जनताका तर्फबाट खबरदारी गर्ने भरपर्दो माध्यम मानिन्छ । अझ गठबन्धन सरकार त बलियो प्रतिपक्षको अगाडि सदैव हच्किने गर्दछ । जसले मौका मिल्नासाथ सत्तापलट गर्न सक्छ ।

तर, मंगलबार संसद्मा भने निकै विचित्रको दृश्य देखियो । जुन दृश्य देखियो त्यसले अब प्रतिनिधिसभा प्रतिपक्षविहीन बनेको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने साहस नभएको मंगलबार संसदमा देखिएको दृश्यले स्पष्ट गरेको छ । कांग्रेसले सातदलीय गठबन्धन सरकारलाई विश्वासको मत दिएको छ ।

कांग्रेसमात्रै होइन गठबन्धनमा सामेल नभएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएका छन् । बाँकी दल र स्वतन्त्र सांसदहरूले त प्रचण्डलाई प्रधानमन्त्री बन्दै समर्थन गरेका हुन् ।

विश्वासको मतको विपक्षमा एक/एक सिट रहेका नेमकिपा र राष्ट्रिय जनमोर्चा मात्रै देखिए । उनीहरूले संसद्मा प्रतिपक्षीको हैसियत भने पाउने छैनन् । संसद्मा प्रतिपक्षी दल हुन कुल सदस्य संख्याको १० प्रतिशत सांसद हुनुपर्ने व्यवस्था छ ।

अब संसद् प्रतिपक्षविहीन बनेको छ । प्रतिपक्षमा बस्ने कसैको रुचि भएन । सबै सत्तापक्ष मात्र भए । जब प्रतिपक्ष कमजोर हुन्छ, सरकार बेलगाम बन्छ । जनताको भाषा बोल्ने प्रतिपक्ष कमजोर हुँदा जनआवाज कमजोर बन्छ । अझै सरकारलाई विश्वासको मत दिएकाहरूले नै आफूलाई प्रतिपक्षी दाबी गर्नु नैतिकताहीन हो । यो संविधानले परिकल्पना गरेको छैन । जसमा कांग्रेस र एकीकृत समाजवादी दुवै छन् । राजनीतिक र नैतिक रूपमा भने उनीहरू प्रतिपक्षी दल हुँदैनन् । सत्तालाई समर्थन गरेपछि दह्रो प्रतिपक्षको भूमिकामा दलहरू उभिन सक्दैनन् ।

संसदीय पद्धतिमा राजनीतिक र नैतिक हिसाबले बलियो प्रतिपक्ष नभएसम्म सन्तुलित शासन पद्धति चल्न सक्दैन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि करेक्सन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कांग्रेसले विश्वासको मत दिएको दाबी गरे ।

मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई वर्षअघि संविधान जोगाउन बनेको पाँच दलीय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्सनका लागि प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत दिएको दाबी उनको छ ।

उनले संविधानमाथि आइपरेको खतरा बचाउनका लागि समर्थन गरेको बताए । उनले राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएकाले आर्थिक, सामाजिक र राजनीतिक सबै परिस्थिति एकठाउँ आउनुको विकल्प नभएकाले पनि यो बेलामा नेपालका सबै शक्तिहरू एक ठाउँमा उभिएर राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम गर्न आवश्यक भएको जिकिर गरे ।
हालका गठबन्धन दलभित्रै राजनीतिक मतभेद कायमै रहेकाले पूर्ववत गठबन्धन ब्युँतिन सक्ने उनको दाबी छ । एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्ने प्रयत्न जारी राखेकाले राजनीतिक मतभेद कायम हुँदा पुरानै गठबन्धन फर्कन सक्ने सम्भावना उनले देखेका छन् ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र फरक मत हुँदाहुँदै पनि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए । कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि महामन्त्री शर्माले पार्टीभित्र यसबारे दुईथरी मत रहेको स्वीकार गरे । ‘कुनै जोडीले भागेर विवाह गरेपछि दुई परिवारको बीचमा बोलाएर टीकाटालो गर्नुपर्छ या पर्दैन भन्ने विषयमा फरक विचार आउँदो रहेछ,’ विश्वासको मत दिएकोतर्फ संकेत गर्दै उनले भने, ‘तर, बोलाएर टीकोटालो गरेपछि सहभागी हुनुपर्ने रहेछ । घरजम छँदा प्रेम टुट्यो । डिभोर्स भइसकेपछि माया बस्यो भन्याजस्तै भयो ।’ उनी र अर्का महामन्त्री गगन थापासहित कांग्रेसका पाँच सांसद प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नहुने पक्षमा थिए । यद्यपि, पार्टीले निर्णय गरेपछि उनीहरूले पनि विश्वासको मत दिन करै लाग्यो । फरक विचारबीच पार्टीकोे निर्णय इमानदारपूर्वक पालना गरेको उनले बताए ।

संविधानविद् भीमार्जुन आचार्यले नेपाली कांग्रेसले सरकारलाई मत दिएर सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गरेको बताए । संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि संविधानविद् आचार्यले विश्वासको मतले सरकारी लाइनमा उभिनु उसको संवैधानिक धर्म नभएको बताए । कांग्रेसले प्रतिपक्षी पार्टीका सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गरेको उनको भनाइ छ । ‘संसदीय शासन प्रणालीमा प्रतिपक्षी पार्टीले परेको बेला वैकल्पिक सरकार दिन सक्ने र सरकारलाई संसद्प्रति जवाफदेही बनाउन सक्ने सामथ्र्य राखेको हुन्छ,’ उनले भने, ‘विश्वासको मतको सरकारी लाइनमा उभिनु उसको संवैधानिक धर्म होइन । कांग्रेसले प्रतिपक्षी पार्टीका सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट ग-यो ।’ प्रतिपक्षविहीन सरकारको संविधानले परिकल्पना नगरेको उनको भनाइ छ । ‘सरकारको पक्षमा मतदान गर्नु भनेको प्रतिपक्ष नभएर सत्तापक्ष नै भन्नुपर्छ,’ उनले भने, ‘प्रतिपक्ष बिनाको संसदीय शासन प्रणाली कल्पना नै गरिँदैन । संविधानको प्रावधान मात्रै नभएर भावना पनि यही हो । सरकारलाई समर्थन गरेपछि वैधानिक रूपले प्रतिपक्ष भन्न मिल्दैन ।’

उता राजनीतिक विश्लेषक डम्बर खतिवडाले नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलसमेत बन्ने आँट गर्न नसकेको टिप्पणी गरेका छन् । कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि विश्लेषक खतिवडाले प्रतिपक्षी बन्ने आँट नगरेर कांग्रेसले सम्पूर्ण आत्मविश्वास गुमाएको बताए । कांग्रेसका कारण लोकतान्त्रिक कित्तामा एक ठूलो ‘स्पेस’ सृजना भएको उनको भनाइ छ । ‘चुनावमा सिधा देखिने करिब सात लाख र बढेको अनुपातमा करिब १० लाख मत गुमाउँदा पनि कांग्रेसले चेतेनछ । विपक्षी दलसमेत बन्ने आँट नहुने गरी सम्पूर्णतः आत्मविश्वास गुमाएको छ,’ उनले भने, ‘कांग्रेसका कारण लोकतान्त्रिक कित्तामा एक ठूलो राजनीतिक स्पेस सृजना भएको छ । कांग्रेसजनले अब विकल्प खोज्न जरुरी छ ।’ संसारको उत्कृष्ट संविधान र संसदीय प्रणालीले प्रतिपक्षविहीन संसद् जन्माएको टिप्पणी गर्दै अब संसद्बाहिरबाटै आमजनताले नै प्रतिपक्षीको भूमिका निभाउनुपर्ने उनले बताए ।

लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौलाले कांग्रेसले शासकको अहंकार, स्वेच्छाचार र भ्रष्टाचार बढावाको पक्षमा भोट हालेको टिप्पणी गरे । कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि लेखक सङ्ग्रौलाले आदर्श र सिद्धान्तका दृष्टिले कांग्रेस एक पित्को पनि कांग्रेस नरहेको टिप्पणी गरे ।

बहुलदीय व्यवस्थामा प्रतिपक्षको भूमिका शासकको अहंकार, स्वेच्छाचार र भ्रष्टाचार रोक्ने यत्न हुनुपर्ने उनको भनाइ छ । ‘बहुलदीय व्यवस्थामा प्रतिपक्षको भूमिका शासकको अहंकार, स्वेच्छाचार र भ्रष्टाचार रोक्ने यत्न गर्नु हो,’ उनले भनेका छन् ‘प्रतिपक्षको भूमिका पाएको कांग्रेसले शासकको अहंकार, स्वेच्छाचार र भ्रष्टाचारको बढावाको पक्षमा भोट हालेछ । आदर्श र सिद्धान्तका दृष्टिले कांग्रेस एक पित्को पनि कांग्रेस रहेन ।’


Published :२७ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media