काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाको ११ औं नगरसभा पुस २९ गते शुक्रबार एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।
नगरपालिकाको प्रशासनिक भवनको सभाहलमा सम्पन्न सो सभामा नगरप्रमुख, उपप्रमुख, नगरसभा सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाका कर्मचारीहरू र विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
राष्ट्रिय गान, सहिदहरू र अन्य कारणबाट मृत्युवरण गरेका नगरभित्रका सम्पूर्ण दिवंगत व्यक्तित्वप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरप्रमुख एवं सभाध्यक्ष मिठाराम अधिकारीले कार्यक्रमको सुरुवात गरेका थिए ।
सो अवसरमा नगर युवा परिषदद्वारा नमुना नगरसभा अभ्यास प्रस्तुत गरिएको थियो । यसअघि युवा परिषद्को आयोजनामा भएको नमुना युवा संसद प्रशिक्षण कार्यक्रम का प्रशिक्षित सहभागीहरुले बुढानीलकण्ठ नगरपालिकाका नगरसभा सदस्य सामु “नमुना नगरसभा” सञ्चालन गरेका थिए ।
संविधानमा र स्थानीय तह सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक आर्थिक वर्षमा नगरसभाको बैठक ६/६ महिनामा बस्ने गरेको छ । नगरसभामा चालु आ.व. २०७९/०८० को बजेट कार्यक्रम स्वीकृत भएदेखि ६ महिनाभित्र कार्यान्वयन भएको सम्पूर्ण काम र गतिविधिहरूका बारेमा छलफल, अर्धवार्षिक समीक्षा र मूल्याङ्कन गरिएको थियो ।
सो सभामा राजस्व परामर्श समिति, सुशासन समिति, विधेयक समिति, लेखा समिति, पूर्वाधार विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति, आर्थिक विकास समिति र सामाजिक विकास समिति गरी ८ वटा समितिका संयोजकहरुले आ-आफ्ना प्रगति प्रतिवेदन सभाध्यक्षलाई पेश गरेका थिए । पेश गरिएका विषयगत समितिका प्रतिवेदन सभाबाट छलफल भई पारित गरियो ।
विषयगत समितिअन्तर्गत राजस्व परामर्श तथा न्यायिक समितिका संयोजक नगर उपप्रमुखद्वारा प्रतिवेदन प्रस्तुत गरिएको थियो भने सुशासन समितिबाट संयोजक शम्भुप्रसाद भट्टराई, विधायन समितिबाट संयोजक गोमा मंग्रान्ती, पूर्वाधार विकास समितिबाट सुरेन्द्र लामा, सामाजिक समितिबाट संयोजक शान्ता ढकाल पुडासैनी, वन वातावरण तथा विपद् व्यवस्थापन समितिबाट संयोजक राजकुमार रोक्का, आर्थिक विकास समितिबाट रिना श्रेष्ठ र लेखा समितिबाट संयोजक राजकाजी श्रेष्ठले आ-आफ्ना समितिका प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । ती प्रेतिवेदनहरु पनि नगरसभाले पारित गरेको थियो ।