लोकगायिका निरा छन्त्यालको विमान दुर्घटनामा परी मृत्यु

काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा लोकगायिक निरा छन्त्यालको मृत्यु भएको छ । उनी माघी मनाउन सो विमानबाट पोखरा जाँदै थिइन्। तर,पोखरा नपुग्दै उनी चढेको विमान दुर्घटनामा पर्‍यो । पोखरामा पाइला टेक्न नपाउँदै उनी संसारबाट विदा भइन् ।

निरासहित ६८ यात्रु सवार रहेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा सेती खोँचमा दुर्घटनाग्रस्त भयो । पुरानो एयरपोर्टको आकाश पुग्न १ मिनेट पनि नपुग्दै जहाज आकाशमै कोल्टियो र सेतीनदीको खोँचमा खसेको थियो ।

उनले विमान चढ्नुअघि माघे संक्रान्तिको अवसरमा शुभकामना दिएकी थिइन् । माघे संक्रान्तिको शुभकामना दिँदै उनले लेखेकी छन्-‘माघे संक्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबाबु,दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

उनी माघीको अवसरमा काठमाडौंमा शनिबार एक कार्यक्रममा सहभागी भएकी थिइन् । कार्यक्रमपछि काठमाडौंमा गरेको रमाइलोपछि आज (आइतबार) का लागि पोखरामा रमाइलो गर्नुपर्छ भन्दै फेसबुकमा तस्बिर समेत पोस्ट गरेकी थिइन् ।

सोही अनुरुप उनी बिहान पोखरा जानका लागि यती एयरलाइन्सको विमान चढेकी थिइन् ।

विमानमा सवारमध्ये ६८ जनाको शव भेटिएका छन् ।  ४ जनाको अवस्था अज्ञात छ । दुर्घटनामा २५ महिला, ३७ पुरुष, ३ बालक र ३ शिशु परेका छन् । विमानमा १५ जना विदेशी नागरिक रहेको पाइएको छ। खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सरकारले दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । शोकमा भोलि सार्वजनिक बिदा समेत दिइएको  छ ।


Published :१ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media