बलात्कार मुद्दामा अभिनेता पल शाहलाई अदालतको सफाइ, जेलमुक्त भने नहुने

काठमाडौँ । नाबालिग गायिका बलात्कार मुद्दामा थुनामा रहेका अभिनेता पल शाहले सफाइ पाएका छन् । जबरजस्ती करणीको मुद्दामा थुनामा रहेका पल शाहको मुद्दामा अभियोग दाबी नपुग्ने भन्दै जिल्ला अदालत तनहुँले सफाइ दिएको हो ।
जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा आज मुद्दाको अन्तिम सुनुवाइपछि उक्त फैसला भएको हो ।
दुवै पक्षबाट दिनभर भएको बहस पछि शाहलाई सफाइ दिने फैसला आएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले बताएका छन् ।
यो मुद्दा यसअघि पटक पटक पेशी तोकिए पनि स्थगित हुँदै आएको थियो । पीडित भनिएकी किशोरीले नै अदालतमा बयान फेर्दै जाहेरी झुटो भएको बताएकी थिइन् ।
पीडितले जाहेरी फेरेर होस्टाइल भए पनि नवलपुर अदालतले पललाई यस्तै मुद्दामा अढाइ वर्ष कैदको फैसला गरेको छ ।

गत फागुन ११ गते शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो । गत फागुन १५ गते आफैँ प्रहरी कार्यालय पुगेका पल त्यसयता थुनामै छन् ।

तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि उनी जेल मुक्त भने हुने छैनन् । नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जेल मुक्त हुनेछन् ।


Published :३ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media