काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको चुनावपछि वर्तमान सत्ता समीकरण टिक्न नसक्ने दावी गरेका छन् ।
शनिबार ललितपुरमा पार्टीको पाँचौ केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले सत्ताका विषयमा अहिले नै खटपट सुरु भइसकेको भन्दै राष्ट्रपतिको चुनावपछि वर्तमान सत्ता समीकरण टिक्न नसक्ने दावी गरेका हुन् ।
अध्यक्ष नेपालले शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’को बीचमा भएको सहमति एमालेकै कारण टुटेको र चुनावको परिणाम आए पनि नयाँ शक्ति सन्तुलन बन्न पुगेको उनले बताए ।
अब वर्तमान गठबन्धनले राष्ट्रपति निर्वाचनपछि प्रचण्डलाई थेग्न नसक्ने उनको भनाइ छ। अध्यक्ष नेपालले चुनावमा लोकप्रिय मत पाएका दलहरूको पछिल्लो क्रियाकलापले धेरै नटिक्ने संकेत देखाएको बताए ।
त्यस्तै उनले संविधानको उलंघन गर्नेहरू सरकारमा जानु संकटको संकेत दिएको जिकिर गरे। संसदको रोष्ट्रममा उभिएर संविधानको विरोध गर्नेहरू, राजतन्त्रको वकालत गर्नेहरू, संविधान, कानून र नियमको पालना नगर्नेहरू सरकारमा रहेको उनले बताए।
उनले अहिलेको राजनीतिक अवस्था देखेर नेपाली जनतामा निराशा छाएको उल्लेख गरे। उनले संघ र प्रदेशको निर्वाचनमा पार्टीले १० सिट ल्याए पनि थ्रेसहोल्ड कटाउन नसकेको र सोचेजस्तो परिणाम पनि नआएकाले गम्भीर भएर समिक्षा गर्नुपर्ने बताए ।
बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवदेन प्रस्तुत गरेका छन् । प्रतिवेदनमा अध्यक्ष नेपालले सरकारमा सामेल हुन समर्थन नभई सहमतिको वातावरण निर्माण गर्न सकिन्छ कि भन्ने आशयले प्रधानमन्त्रीलाई विश्वासको मत मात्र दिएको उल्लेख गरेका छन् ।
मुलुकलाई सहमतिको मार्गमा डोर्याउने कि नडोर्याउने भन्ने जिम्मा अब नेकपा (माओवादी केन्द्र) र त्यस पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
निर्वाचनबाट ठूलो दल बनेपछि कांग्रेसमा शक्तिको घमण्ड बढ्नु, कांग्रेससँग सही सूचना नहुनु र गलत सूचनामा विश्वास गरेकै कारण पुरानो गठबन्धन टुटेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै प्रतिवेदनमा माओवादी केन्द्रको सत्ताकेन्द्रित सोंच र आफूलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री त्यागेर हिँड्ने प्रवृत्ति रहेको उल्लेख गरिएको छ। समाजवादीको केन्द्रीय कमिटी बैठक आइतबारसम्म चल्ने छ ।