साढे चार महिनापछि काठमाडौँमा वर्षा

राष्ट्रपाटी न्युज

१४ फाल्गुन २०७९

काठमाडौँ । काठमाडौं उपत्यकामा करिब साढे ४ महिनापछि पहिलो हिउँदे वर्षा भएको छ । यसअघि गत अक्टोबर १४ तारिखमा उपत्यकामा ०.५ एमएम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका पूर्वानुमान महाशाखाका मौसमविद् सन्जिव अधिकारीका अनुसार आइतबार र सोमबार काठमाडौंसहित देशका केही स्थानमा सामान्य वर्षा हुनेछ ।

आइतबार दिउँसो गण्डककी प्रदेश, वाग्मतीका थोरै स्थान र प्रदेश नम्बर १ को एक/दुई स्थानमा वर्षा भइरहेको छ । ‘यी स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ,’ अधिकारीले भने, ‘वर्षासँगै मेघ गर्जन र चट्याङ पनि परिरहेको छ । ’

विभागले बिहानको मौसम बुलेटिनमा पनि वर्षा हुने अनुमान गर्दै दिउँसो यी प्रदेशमा बद्ली हुने प्रक्षेपण गरेको थियो । आइतबार दिउँसो काठमाडौं उपत्यकाको उत्तरपूर्वी स्थानमा वर्षा भइरहेको छ । केही समय वर्षा जारी रहने र राति वर्षा नहुने प्रक्षेपण विभागले जनाएको छ  । हिउँद सकिन लाग्दा मुलुकका विभिन्न स्थानमा पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ ।

विभागकी प्रवक्ता एवं वरिष्ठ मौसमविद् विभूति पोखरेलले नेपालमा प्रि–मनसुन सुरु हुन लागेको बताइन् । प्रि–मनसुन मार्चबाट सुरु हुने उनले बताइन् ।

फेब्रुअरी महिनाका लागि काठमाडौं उपत्याकामा औसत वर्षा १८.७ एमएम रहेको छ । यो वर्ष सुक्खा हिउँद हुने र सामान्य वर्षा हुने अनुमान गरेको थियो । विभागले १० एमएमभन्दा कम वर्षालाई सामान्य वर्षाको रुपमा लिने गरेको छ ।

नेपालमा यस वर्ष हिउँदमा औसतभन्दा कम वर्षा भएको विभागले जनाइसकेको छ । विभागको पछिल्लो प्रतिवेदनले बितेका १७ वर्षमा ११ हिउँद सुक्खा भएको देखाएको छ । यो वर्ष हिउँदे वर्षा कम हुँदा यसले कृषि प्रणाली र उत्पादनमा समेत केही प्रतिशतले असर पुर्‍याउने विज्ञहरुले बताएका छन् ।


Published :१४ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media