
तनहुँ । नाबालिका बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका कलाकार पूर्णविक्रम (पल) शाह थुनामुक्त भएका छन्। शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाले रिहा भएको जानकारी दिए । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा थिए । शाहलाई स्वागत गर्न उनका शुभचिन्तकहरू बिहानैदेखि कारागार पुगेका थिए ।
आइतबार उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको आदेश उल्ट्याउँदै शाहमाथिको अभियोग दाबी नपुग्ने ठहर गरेको थियो।
शाहलाई थुनामुक्त गर्ने व्यहोराको पत्र उच्च अदालतले जिल्ला कारागार तनहुँलाई पठाएपछि उनी रिहा भएका हुन्।
यसअघि जिल्ला अदालत नवलपुरले शाहलाई २५ हजार जरिवानासहित दुई वर्ष ६ महिना कैद र पीडितलाई १० लाख रूपैयाँ क्षतिपूर्ति फैसला गरेको थियो। त्यसविरुद्ध शाहले उच्च अदालतमा पुनरावेदन गरेका थिए। शाहले तनहुँ जिल्ला अदालतमा परेको मुद्दामा सफाइ पाइसकेका छन्। नवलपुर अदालतले बालयौन दुराचारमा सजाय फैसला गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतबाट बलात्कारमा दिइएको सफाइविरुद्ध पुनरावेदन गरेको थियो।
पोखराकी एक किशोरीले कलाकार शाहले आफूलाई तनहुँ र नवलपुरको गैंडाकोटमा बलाकात्कार गरेको भनी गत वर्ष तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। जाहेरी नवलपुरमा पनि परेको थियो। जिल्ला सरकारी वकिलको कार्यालय तनहुँ र नवलपुर दुवैले जिल्ला अदालतमा शाहविरुद्ध मुद्दा दायर गरेका थिए।
त्यसअघि नै शाहले गत फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।