काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको विश्वास गुमाइसकेको बताएका छन् ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव वैद्यले यस्तो बताएका हुन् । वैद्यले ओलीलाई खत्तम पार्छु भनेर लाग्ने, फेरि ओलीको शरणमा परेर सरकार बनाउने तर टिकाउन नसकेर प्रधानमन्त्री दाहालले जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको आरोप लगाए ।
‘चुनावमा जाने बेलामा गठबन्धन बनाए । प्रतिगमनका विरुद्ध जाने हो । संविधानको रक्षा गर्ने हो, ओलीले खत्तम पारे भनेर कांग्रेस–माओवादी केन्द्रहरु एकदम कुर्लिएर गए । जसका विरुद्ध गएका थिए, त्यसैसँग शरण परेर सरकार बनाउने ल हेर्नुस् । यहाँ भन्दा विचित्र के हुन्छ ?,’ उनले भने,’ त्यो सरकार त टिकाउनुपर्ने हो नि एमालेसँग बसेर । टिकाउन नसकेर फेरि कांग्रेसतिर । राजनीतिक विचित्रता भन्ने कि के भन्ने यो । राजनीतिमा लिला भइसक्यो भन्नुस् । यस्तो चालले अब चल्नेवाला छैन । जनताले विश्वास पनि अब गर्नेवाला छैनन् ।’
उनले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायतका सत्ता र त्यसका अवयवहरु ‘मरेको लास’जस्तै अवस्थामा पुगेको टिप्पणी गरे ।
उनले भने, ‘यो सत्ता र यसका अवयवहरुलाई पूरै फ्याँक्नु पर्छ । कार्यपालिका पनि असफल, न्यायपालिका पनि असफल, व्यवस्थापिका पनि असफल भएको देख्यौं नि हामीले । कांग्रेस त असफल नै हो । पुरानो सत्ता र व्यवस्थालाई चलाउन भनेर कम्युनिष्ट आन्दोलनको नेताहरु भनौं कि गद्दारहरु भनौं । थाम्न भनेर गए । त्यो पुरानो व्यवस्थालाई काँध थाप्न थाले । काँध थापेर के गर्ने त्यो गनाएर बसेको लास जस्तैलाई ? सक्ने अवस्थामा छैन अब त्यो काँध थापेर । यो व्यवस्था सिद्धिएर जाने प्रक्रियामा छ ।’
महासचिव वैद्यले वर्तमान राज्यसत्ता संचालनका लागि कांग्रेस असफल भइसकेको र कम्युनिष्ट नेताहरुलाई पनि जनताले विश्वास गर्ने अवस्था नरहेकाले नयाँ राज्य व्यवस्था स्थापना गर्ने बलियो आधार बन्दै गएको बताए । नयाँ राज्य सत्ता निर्माणका लागि तयार रहन पनि उनले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।