काठमाडौं । आफूले धेरै मानसिक यातना भोग्नुपरेको भन्दै सामाजिक अभियन्ता तथा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले गुनासो गरेका छन् ।
धुर्मुसले लामो समयदेखि अलपत्र चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा चितवन पुगेर गुनासो गरेका हुन् ।
आफूहरुमाथि लागेका आरोपबारे फेसबुक लाइभमार्फत् उनले कुनै गल्ती गरेको भेटिए जुनसुकै सजाय खेप्न आफू तयार रहेको उल्लेख गरेका छन् ।
केही भावुक तथा थोरै आक्रोशित रुपमा प्रस्तुत हुँदै उनले भनेका छन्, ‘यदि एक रुपैयाँ पनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ।’ उनले भने, ‘तर, अब यो मानसिक यातना धेरै सहन सक्दिनँ ।’
जनताको रगत र पसिना बगेको यस निर्माणाधिन रंगशाला निर्माणका लागि आफूले सिंहदरबारदेखि नेताका घरघरमा हारगुहार गर्न पुगेको उनले बताए । उनले धुर्मुस–सुन्तलीमात्रको रंगशाला भनेर गलत खालका प्रचार गर्नेहरुप्रति आक्रोश व्यक्त गरे ।
उनले सरकारकै कारण आफूहरुले हिसाब सार्वजनिक गर्न नसकेको बताए । सरकारी निकायहरुबाट भएको छानबिनको प्रतिवेदन गोप्य राख्दा आफूहरु मर्कामा परेको उनको भनाइ थियो ।
देशका लागि काम गर्दाको सजाय यति कठोर होला भन्ने आफूले कल्पना समेत नगरेको बताउँदै उनले भने, ‘म बिन्ती गर्छु, यदि मेरो खोट छ भने निर्णय होस् ।
उनले भनेका छन्, ‘हरेक मन्त्रीलाई अनुरोध गरें । क्वाटरमा पुगें । टुंग्याइदिनुस्, न्याय दिलाइदिनुस् भनें । चुनावको आचारसंहिताले दिँदैन भनियो । चुनाव सकिएर प्रधानमन्त्री, मन्त्रीकहाँ धाएँ । टुंग्याइदिनुस् भनें । तर त्यो सरकार पनि गयो ।’
राज्यका लागि एउटा गर्विलो संरचना निर्माण गर्ने सपना देख्दा आफूहरुले मानसिक यातना भोग्नुपरेको उनले बताए ।