प्रदेश नामाकरण आन्दोलनमा भएको मृत्युको छानबिन गर्न सरकारले समिति गठन गर्ने  

राष्ट्रपाटी न्युज

११ चैत्र २०७९

काठमाडौँ । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

छलफलमा कोशी प्रदेश नामकरणमा देखिएको विवादपछिको घटनाक्रमप्रति सरकार गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डले बताए। चैत ५ गते भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सरोकारवाला पक्षलाई संवादका लागि पनि आह्वान गरेको छ ।

प्रदेश सभाले फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो। उक्त निर्णयको विरोधमा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको थियो।

प्रहरीको लाठी लागेर घाइते भएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सह-कमाण्डर पदमबहादुर लिम्बुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार बिहान साढे २ बजे मृत्यु भएको थियो ।


Published :११ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media