काठमाडौँ । सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुंगिएको छ । कुन दललाई कुन मन्त्रालय भन्ने मोटामोटी सहमति भएको छ ।
साथै गठबन्धनमा बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न सहमति जुटेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको बैठकले मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति भएको हो ।
जसपाका नेता राजेन्द्र श्रेष्ठले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको बताए । उनले भने, ‘भोलि बेलुका शपथ हुने र जनमोर्चा बाहेक सबै दल सरकारमा जानेछन् । ९ दल सरकारमा जाने सैद्धान्तिक रूपमा मन्त्रालय सङ्ख्या टुङ्गो लाग्यो ।’
कसले कुन मन्त्रालय लिने भन्ने थोरै होमवर्क गर्न बाँकी रहेको उनको भनाइ छ । गठबन्धन बैठकमा कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपाले २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।