राष्ट्रियसभा बैठकः मिटर ब्याजपीडकलाई फौजदारी अभियोगमा कारबाही गर्न माग

राष्ट्रपाटी न्युज

१६ चैत्र २०७९

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग गरिएको छ ।

राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर सांसद मायाप्रसाद शर्माले मिटरब्याजको विषय सामन्ती राज्यप्रणालीको अवशेषका रुपमा रहेकाले त्यसलाई कानुनी र व्यावहारिक दुवै तवरले हल गर्नुपर्नेमा जोड दिए। उनले मिटरब्याजीलाई कारबाही कहिले गर्ने भन्दै सरकारसँग प्रश्न गरे ।

सांसद शर्माले केशर पुस्तकालयमा रहेका पुराना र महत्वपूर्ण पुस्तक संरक्षणमा सम्बद्ध निकायले ध्यान नदिएको भन्दै तत्काल समस्या समाधान गर्न माग गरे। सांसद कमला पन्तले सहकारी संस्थाको ज्यादतीका कारण मानिसले अकालमा ज्यान फाल्नुपरेको तथ्य प्रस्तुत गर्दै समस्या समाधानका लागि आग्रह गरिन् ।

उनले मिटरब्याजीका कारण गरिब, निमुखा नागरिकको घरखेत गएको र जीवनयापनसमेत गर्न नसक्ने अवस्थामा पुगेको तथ्य पेस गरिन्। उनले किसानलाई उत्पादन बढाउनका लागि मुलुकभित्रै रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने माग दोहोर्याइन् ।

सांसद शारदादेवी भट्टले मिटरब्याजमा लिएको ऋणको ब्याज तिर्दातिर्दा कहिले नसकिने यो कस्तो अन्याय हो भन्ने प्रश्न गर्दै पीडितलाई राहत र पीडकलाई कारबाहीको माग गरिन्। यो धनुषाको मात्रै समस्या नभई देशभरको समस्या भएको उल्लेख गर्दै उनले आफ्नो गुनासो र दुःख सुनाउन आएका पीडितलाई खुलामञ्चमासमेत बस्न नदिइएकामा आपत्ति जनाइन् ।

सांसद प्रमिला कुमारीले कोशी प्रदेशको नामकरणका विषयलाई लिएर भएको प्रदर्शनमा ज्यान गुमाउने र घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् ।


Published :१६ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media