संक्रमणकालीन न्यायका विषयहरु अन्तर्राष्ट्रिय मापदण्डअनुरुप अगाडि बढाउनुपर्छः एमाले अध्यक्ष ओली

राष्ट्रपाटी न्युज

१६ चैत्र २०७९

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय अन्तर्राष्ट्रिय स्तरमा मान्य हुनेगरी अगाडि बढाउनुपर्ने बताएका छन् ।

बिहीवार रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु अन्तर्राष्ट्रिय मापदण्डअनुरुप अगाडि बढाउनुपर्ने बताएका हुन् ।  उनले अन्तर्राष्ट्रिय समुदायलाई मान्य हुनेगरी सर्वोच्च अदालतले गरेको फैसलाका आधारमा अगाडि बढ्नुपर्ने बताए । त्यस्तै पीडितले न्याय पाउनुपर्ने उनले बताए ।

अध्यक्ष ओलीले पीडितलाई न्याय नदिने गरी फास्ट ट्रयाकको नाममा अगाडि बढाउन खोजिएको भन्दै त्यसो गरिएमा आफूहरुले बिरोध गर्ने बताए ।

अध्यक्ष ओलीले सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिएकोप्रति असन्तुष्टि जनाउँदै सो बिदालाई पात्रोबाट हटाउने चेतावनी दिए । माओवादीहरुले गरेको युद्ध जनयुद्ध नभएर हिंसा भएको उनको भनाई छ । उनले हिंसा दिवसलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन नसकिने बताए । उनले शहीद घोषणा पनि सरकारले छानबिन नगरीकन गरेको भन्दै त्यसको विरोध जनाए ।

अध्यक्ष ओलीले प्रधानमन्त्रीले भारत भ्रमणको समयमा भारतले नेपालको सीमा मिचेको विषय उठ्ने नउठ्ने हो त्यो हेरिरहेको बताए । सीमा मिचिएको विषय साउती गर्ने विषय नभएको भन्दै उनले सार्वजनिक रुपमा छलफल गर्नुपर्नेमा जोड दिए । उनले वर्तमान सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको आरोप लगाए ।


Published :१६ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media