काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरु कसैको भजनमण्डली बन्नु नहुने बताएकी छन् ।
सोमवार रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कुनै पनि सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताइन् । उनले कतिपय सञ्चारमाध्यमहरु सरकारको तर्फबाट पनि सञ्चालन भइरहेको उल्लेख गर्दै सञ्चारमाध्यम भजनमण्डली हुनु हुँदैन भनेर नै सैद्धान्तिक मान्यताअनुसार प्रशारण ऐन संसदमा प्रश्तुत भएको बताइन् ।
उनले प्रशारण ऐन पारित भइसकेपछि सञ्चरमाध्यमहरुमा नयाँ वातावरण सिर्जना हुने बताइन् । उनले सरकारले आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसदमा प्रश्तुत गर्ने तयारी गरिरहेको बताइन् । मन्त्री शर्माले अहिले पनि सबै क्षेत्रमा इनटरनेटको पहुँच बिस्तार गर्न नसकेको बताइन् ।
मन्त्री शर्माले जनतालाई सुसुचित बनाउने, जनतामाझ प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरु सञ्चारमाध्यमहरुले प्रशारण एवं प्रकाशन गर्न जरुरी रहेको बताइन् ।