काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए ।
सोमबार बसेको बोर्ड बैठकले डिजेल, मट्टितेल र दुवै प्रकारका हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको छ,’ थानीले भने, ‘खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको छ ।’
निगम सञ्चालक समितिको सो निर्णयसँगै अब डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा मूल्य १७५ रुपैयाँ लिटर थियो । यस्तै हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ ।
घटेपछिको नयाँ मूल्य अनुसार हवाई इन्धन आन्तरिकतर्फ १६० रुपैयाँ प्रतिलिटर र बाह्यतर्फ डलर १.३५० प्रतिकिलोलिटर कायम भएको छ ।