रास्वपा सभापति लामिछानेको उम्मेदवारीविरुद्ध उजुरी

राष्ट्रपाटी न्युज

चैत्र २०, २०७९

काठमाडौँ । चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।

नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यतित नभइ निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको उजुरीमा उल्लेख छन्। तर, रवि लामिछानेले माघ १५ गतेमात्रै  जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता पुनर्प्राप्ति गरेको र सो अघि उनले निस्सा बुझाएको नदेखिएकाले उम्मेदवार बन्न अयोग्य रहेको जिकिर गरिएको छ ।

उजुरीमा लामिछानेको उम्मेदवारी बदर गरी उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गर्न माग गरिएको छ । सोमबार लामिछानेले चितवन २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए ।


Published :चैत्र २०, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media