बारा । आफूलाई मधेशका मसिहा भन्नेहरुले मधेशलाई ठग्ने काम मात्र गरेको नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन् ।
बाराको महागढीमाई नगरपालिका १ स्थित गढीमाई मन्दिर नजिकै बुधवार आयोजना गरिएको एमाले पार्टीको क्षेत्रिय भेलालाई सम्बोधन गर्दै उनले आफूलाई मधेशको मसिहा भन्ने उपेन्द्र यादवले मधेश र मधेशी जनतालाई ठग्ने काममात्र गरेको बताए ।
पटकपटक सरकारमा गए पनि मधेश र मधेशीको लागि केही नगरेको र अहिले पनि मधेशमा आएर चुनाव जित्ने खोक्रो मधेशवादको नारा लिएर मधेशीहरुलाई झुक्याउन आएको उनले बताए ।
विगत लामो समयदेखि मोरङ, सुनसरी, सप्तरी लगायतको ठाउँबाट निर्वाचित भएका यादव मधेश र मधेशी जनताको लागि केही गरेका छैनन्, उनले भने,‘जसको कारण मोरङ, सुनसरी, सप्तरीका जनताहरुले उनलाई लखेटे । फेरि पनि मधेशी जनताहरुलाई झुक्याउन, उनी ठगबन्धनको सहारा लिएर बारा जिल्ला आइपुगेका छन् । तर अब मधेशी जनताले उनको भनाइ र गराइको बारेमा बुझिसकेका छन् भन्दै उनले यसपालीको उपचुनावमा बाराली जनताहरुले समेत उनलाई बाराबाट लखेट्नेमा आफू विश्वस्त रहेको बताए ।
साथै जातिय राजनितिले देश अगाडि बढ्न नसक्ने एमाले अध्यक्ष ओलीले बताए । एमाले राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा लागेको बताउँदै उनले देश बलियो बनाउने पार्टी एमाले मात्र भएको जिकिर गरे ।
लडाकुको नाममा अर्वौ भ्रष्टाचार गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिले राहतको नाममा माओवादी कार्यकर्तालाई पैसा बाँडेर देशको ढुकुटी रित्याउने काममा लागेको उनको आरोप थियो ।
द्वन्द पीडितलाई राहत दिने सरकारको निर्णयप्रति उनले भने,‘जुन विशुद्ध वास्तविक पीडित जनताको लागि नभई माओवादी कार्यकर्तालाई रकम दिने षड्यन्त्र हो ।’
सतारुढ दलहरु लोकतन्त्र सिध्याउने षडयन्त्रमा लागेको उनको आरोप थियो । साथै न्यायालयलाई समेत अनावश्यक मुद्दामा अल्झाएर काम गर्न नदिएको उनले बताए ।