देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेकोप्रति सरकारको ध्यानाकर्षण

राष्ट्रपाटी न्युज

२३ चैत्र २०७९

काठमाडौं । प्रतिनिधि सभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताएका छन्  ।

बिहीवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको बताएका हुन् ।

उनले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको भन्दै भ्रष्टाचार जरैसम्म पुगेको बताए । गरिब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको भन्दै उनले यो सबैको कारण बेथिति भएको बताए ।

प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सिक्टा सिचाइँ आयोजनामा भ्रष्टाचार भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा दोषीलाई सफाइ दिने न्यायाधीशहरुलाई कारबाही गर्नुपर्ने बताए । त्यस्तै उनले भरतपुरको बिपी कोईराला क्यान्सर अस्पतालमा उपचारका लागि आवश्यक मेशिन खरिदका लागि छुट्याइएको रकमबाट कर्मचारीलाई तलव खुवाइएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गरे ।

प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै संघीयताको बिरोध गरे । उनले संघीयता कार्यकर्ता भर्ती गर्ने ठाउँ भएको बताए । कहीँ पनि नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भएको उनले बताए ।

प्रतिनिधि सभा सदस्य शाहीले विदेशबाट ऋण ल्याएको ल्याएकै गरेपनि हरेकदिन बेरोजगारी समस्या बढेको भन्दै यसको जवाफ हालसम्मका प्रधानमन्त्रीहरुले दिनुपर्ने बताए ।


Published :२३ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media