न्यूनतम साझा कार्यक्रममा सत्ता घटक जनमोर्चाको असहमति

राष्ट्रपाटी न्युज

२४ चैत्र २०७९

रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रचण्ड सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमका धेरै बुँदामा आफ्नो पार्टीको असहमति रहेको बताएका छन् ।

शुक्रबार बुटवलमा आयोजित प्रगतिशील पत्रकार संघको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले केही सकारात्मक कुरा छन् भन्दा स्वीकार्‍यो भन्दै गलत प्रचार भएको समेत गुनासो गरे । विशेषत आफ्नो दलले तीन बुँदामा असहमति जाहेर गरेको उनले बताए । विदेशमा बसेका नेपालीलाई मताधिकारको कुरा राम्रो भएको बताउँदा सबै कुरा स्वीकारेको बताउँदै भ्रम सिर्जना गरेको उनको गुनासो थियो ।

अध्यक्ष केसीले गठबन्धनले ल्याएको अहिलेको र अघिल्लो न्यूनतम साझा कार्यक्रममा भएको संघीयता नै स्वीकार्य नभएको बताए । नेपाल जस्तो सानो देशले संघीयता धान्न नसक्ने भएको र राष्ट्रिय जनमोर्चाले यसको खारेजीको माग गर्दै आएकोले यो स्वीकार्य नहुने उनको भनाइ थियो ।

साथै संक्रमणकालीन न्यायको विषय र अंगीकृत नागरिकता भएका व्यक्तिबाट जन्मेकालाई बंशजका आधारमा दिने नागरिकताको विषयमा आफ्नो दलको असहमति रहेको केसीले बताए ।

राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनको एक घटक हो । प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सरकारमा भने सहभागी भएको छैन ।


Published :२४ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media